काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति तय गर्न नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकास क्रमबारे छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संसद्मा दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ । काँग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ ।