काठमाडौँ । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।
ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क बटुल्यो । त्यो समूहबाट सात अङ्कसहित कोलम्बिया पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि कोस्टा रिकाका लागि भने कोपा–अमेरिकाको ४८औँ संस्करण दुर्भाग्यपूर्ण रह्यो । कोस्टा रिकाले आफ्नो अन्तिम खेलमा पाराग्वेलाई २–१ गोलले पराजित गरेको थियो ।
तर, पाराग्वे एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रह्यो । पाराग्वे भने तीनवटै खेलमा पराजित भयो । कोलम्बियाविरुद्धको खेलमा सुरुआती अग्रता लिएर पनि ब्राजिलले त्यसलाई जोगाउन सकेन ।
खेल सुरु भएको १२औँ मिनेटमै राफिन्हाले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कोलम्बियाले जवाफी गोल गरेको थियो । कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरेका थिए ।
यसैगरी पाराग्वेविरुद्धको खेलमा कोस्टा रिकाले दुवै गोल पाँच मिनेटको बिचमा गरेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फ्रान्सिस्को काल्भोले पहिलो गोल गरेका थिए । सातौँ मिनेटमा जोसिमर अल्कोशेरले अग्रता दोब्बर बनाएका थिए । पाराग्वेका लागि भने एकमात्र गोल ५५औँ मिनेटमा रामोन सोसाले गरेका थिए ।
बुधबार विहानको खेलसँगै कोपा–अमेरिकाको क्वार्टरफाइनल समीकरण पनि पुरा भएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको, भेनेजुएलाले क्यानडाको, कोलीम्बयाले पानामाको तथा ब्राजिलले उरुग्वेको सामना गर्नेछन् । क्वार्टरफाइनल खेल शुक्रबार बिहानदेखि सुरु हुनेछ ।