काठमाडौँ । पर्यटन विकास आयोजना इकाइ कार्यालय, काठमाडौँका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर राजीव बस्नेत, सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले आपसी मिलेमतोमा निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
अख्तियारको टोलीले सबइन्जिनियरद्वयलाई सो घुस रकमसहित पक्राउ गरेको थियो ।
अनुसन्धानमा इन्जिनियर बस्नेत, सबइन्जिनियरद्वय भट्टराई र अर्यालले निर्माण सम्पन्नपश्चात् ठेक्काबापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिन लगाएको/लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारले उनीहरूविरूद्ध १७ हजार रुपैयाँ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र बिगोबमोजिम जरिवानाको माग दाबी लिएको छ ।