काठमाडौँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको चीनसँगको नाका जोड्ने अरनिको राजमार्ग र काठमाडौँ उपत्यका र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार वर्षाका कारण बिपी राजमार्गमा रोशी गाउँपालिका–८ को नार्के, चार सयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि, वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर–१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई राजमार्ग अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका–७ लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताए ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका– ८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन पाँचखाल नगरपालिकासँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्गकै धुलिखेल-खावा सडकमा रूख ढलेर अवरुद्ध भएको र त्यसलाई हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका जोडिएका खोपासी चलाल ढुङ्खर्क च्याम्र्याङबेसी सुकुमफेदी फापरबारी सडकमा ग्वाभञ्ज्याङ खण्ड र पार्थली खण्ड अवरुद्ध भएको छ ।