काठमाडौँ । केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समीकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताएका हुन् ।
सोमबार विराटनगरमा सञ्चार कर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली काँग्रेस सहितको सरकार बन्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भए पनि केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए । नयाँ समीकरण अनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।
कोशी प्रदेशमा गत वैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरूको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।