काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको काँग्रेसले पार्टीको नेतृत्व गरेर सरकारमा कसलाई पटाउँछ भन्ने जिज्ञासा भइरहेका बेला सिटौलाले आफ्नो रुचि नरहेको बताएका हुन् ।
‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन। अरु साथीहरूले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन । विचार त पहिले मेरै बन्नुपर्छ नि, होइन र ?’, सिटौलाले भने ।
राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता रहेका सिटौलाले सरकारलाई बाहिरबाटै सहयोग गर्ने बताए । उनले एमाले अध्यक्ष ओलीसँगको सम्बन्धका कारण आफूले सरकारमा जान्न नभनेको पनि बताए ।
‘ओलीजीको नेतृत्वमा बन्ने सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ । सैद्धान्तिक,राजनीतिक, सहयोग मेरो तर्फबाट गर्ने सबै सहयोग हुन्छ’, उनले भने ।