काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु देउवा राणाले खोलाको छेउछाउमा घर बनाउन रोक लगाउनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले खोला किनार तथा बाढीग्रस्त क्षेत्र वरपर घर बनाउन रोक लगाउने गरी नीति बनाउनुपर्ने बताएकी हुन् ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र वरपर वन्यजन्तुको संरक्षणका लागि मध्यवर्ती क्षेत्र भनेर छुट्याइएजस्तै मान्छेको संरक्षणका लागि पनि खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।
‘कुन ठाउँमा बस्ती बसाउन सुरक्षित हो, कुन ठाउँ होइन भनेर भन्दिनुपर्छ’, उनले भनिन्, ‘‘मान्छे संरक्षणका लागि खोलाका वरपर घर बनाउनु हुँदैन, बाढीग्रस्त क्षेत्र कति तोक्ने भन्ने हामीले नीति बनाउनुपर्छ । नभए हरेक वर्ष यस्ता समस्या दोहोरिरहन्छ ।’
पछिल्लो १० वर्षमा विश्वभर हिमताल विस्फोटको घटना बढ्दै गएको भन्दै सांसद देउवाले यो खबर नेपालका लागि भयावह भएको बताइन् । ‘अहिले नदी बढेर जसरी बाढी आएर धनजनको क्षति भएको छ । हिमताल फुट्दा यो भन्दा ठूलो आपत आउन सक्छ । हामी हिमतालबाट जन्मिएका नदीहरूको वरपर मात्र बसोबास गरिरहेका छैनौँ, हाम्रा कृषि, धर्म, संस्कृति यी नदीहरूको आधारमा अघि बढेको छ’, उनले भनिन् ।
सांसद देउवाले हिमतालहरुको अनुगमन र संरक्षणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने पनि बताइन् । सन् २०२५ लाई ताजकिस्तानले हिमनदी संरक्षण वर्ष (युएन इयर अफ दि ग्लेसियर) को रूपमा घोषणा गर्न माग गरेको भन्दै उनले यसलाई नेपालले पनि समर्थन गर्नुपर्ने धारणा राखिन् ।