काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाउने कार्यको प्रशंसा गरेका छन् । एकीकृत चेकजाँच बिन्दु उद्घाटन गर्न भैरहवा पुगेका गृह सचिव अर्यालले अन्य नाकाहरुमासमेत यो प्रणाली लागू गर्नुपर्ने भन्दै नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।
‘चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाई प्रशंसनीय कामको शुरुआत भएको छ’,गृह सचिव अर्यालले भने, ‘अन्य नाकाहरूमा पनि यो अवधारणा लागू गर्नका लागि आवश्यक नीतिगत पहल गरिनेछ’
सरकारी सेवाहरूलाई क्रमशः डिजिटाइजेश गर्दै लैजान सकेमा सेवा प्रवाह चुस्त र प्रभावकारी हुँदै जाने बताउँदै गृह सचिव अर्यालले प्रभावकारी व्यवस्थापनले राजश्व चुहावट नियन्त्रणमासमेत मद्दत पुग्ने बताए ।
उक्त प्रणालीको कानुनी आधारशीला निर्माणका लागिसमेत पहल गर्ने बताएका गृह सचिव अर्यालले सुशासन र राजश्व चुहावट नियन्त्रणमा शून्य सहनशीलता भएर अघि बढ्नुपर्ने बताएका छन् ।

एकीकृत चेकजाँच बिन्दुको स्थापनासँगै भन्सार बिन्दु पार गरिसकेपछि पटक पटक भन्सार, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरीद्वारा हुने गरेको छुट्टाछुट्टै चेकजाँचको झन्झट अन्त्य भई आवागमनमा सहजता आउने छ ।
एकीकृत चेकजाँच बिन्दुबाट उपलब्ध गराइएको पहेँलो रङ्गको कार्ड पछि पुनः चेकजाँच गरिरहनु पर्ने छैन । यसबाट विशेष गरी भारतीय सवारी साधनहरूको आवागमनमासमेत सहज हुने जनाइएको छ ।

एकीकृत चेकजाँच बिन्दु सेवाग्राही तथा यात्रुहरूले खेप्नु परेको अनावश्यक झन्झट हटाउनुका साथै चेकजाँचलाईसमेत चुस्त र प्रभावकारी बनाउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।