काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार साँझ ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपाली काँग्रेसको समर्थनमा ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन्। उनी ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका छन्।
काँग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएको थियो, जसअनुसार ओली चौथो पटक प्रधानमन्त्री बन्ने आधार तयार भएको हो। गठबन्धनमा संसद्का अन्य केही दलले पनि साथ दिने भएकाले ओलीले दुई तिहाइभन्दा बढी सांसदको समर्थन पाउने निश्चित छ। काँग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जनमतका ६, उपेन्द्र यादव नेतृत्वको जसपाका ५ र लोसपाका ४ सांसदले ओलीलाई समर्थन गर्ने देखिएको छ।
सहमति अनुसार पहिलो दुई वर्ष ओलीले नेतृत्व गर्नेछन् भने बाँकी समय काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। तर, सहमति पत्र भने सार्वजनिक गरिएको छैन।
ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए। उनको पहिलो कार्यकाल ९ महिनाको थियो र २०७३ साउन ९ मा राजीनामा दिएपछि १९ साउनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीले चुनावी गठबन्धन गरेर झन्डै दुई तिहाइ सिट प्राप्त गरेपछि ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री बने।
तर, नेकपाभित्रै विवाद उत्पन्न हुँदा ओली २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरे। त्यसपछि नेकपा विभाजन भई एमाले र माओवादी एकताअघिको अवस्थामा पुगे। २०७८ वैशाख २७ मा विश्वासको मत नपाउँदा ओलीले दोस्रो पटक प्रधानमन्त्री पद गुमाए।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम ओलीलाई २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरिन्। विश्वासको मत प्राप्त गर्न नसकेपछि ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे। सर्वोच्च अदालतले २०७८ असार २८ मा उक्त विघटनलाई असंवैधानिक ठहर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो, जसले गर्दा ओली तेस्रो पटक सरकारको नेतृत्वबाट बाहिरिए।
७१ वर्षे ओलीको जीवन संघर्षमय छ। ५८ वर्ष लामो राजनीतिक यात्रा तय गरेका उनले १४ वर्ष कठोर कारावास भोगेका छन्। निरङ्कुश पञ्चायती व्यवस्थामा जीवन जोखिममा राखेर गरिएको संघर्षले उनलाई साधारण कार्यकर्ताबाट देशको नेतृत्वसम्म पुर्यायो। तेह्रथुम जिल्लाको आठराई इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीबाट वि.सं. २००८ साल फागुन ११ मा उनको जन्म भएको थियो।