काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् ।
उनी ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिइन् । कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी हुन् । ५२ वर्षिया भट्टराई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिइन् ।
श्रीमान् तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री एवं कास्कीका एमाले नेता रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिइन् ।
२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर संसद् छिरेकी हुन् । २०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित बनिन् ।
समाजशास्त्रमा स्नातककोत्तर मानव शास्त्रमा एमफिल सम्मको अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिइन । २०४६ साल देखि नै उनी एमालेमा आबद्ध थिइन् ।
२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन् । शिक्षा मन्त्रालयले लगातार दोस्रो पटक महिला शिक्षामन्त्री पाएको छ ।
यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।