काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
समिति सभापति सूर्यबहादुर थापाका अनुसार देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग प्रतिनिधिमूलक छलफल गर्न लागिएको हो ।
उनका अनुसार देशभरिबाट राम्रो सहकारी सञ्चालन गरिरहेकाहरूलाई बोलाउने तय भएको छ । यसका लागि समिति सचिवालयले गृहकार्य अगाडि बढाएको छ ।
मंगलबार बसेको समितिको बैठकले आवश्यक कागजात मागिएका निकायहरूसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने निर्णय पनि गरेको छ ।
समितिले विभिन्न व्यक्तिहरूसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने तयारी गरेको छ ।
विभिन्न निकायहरूसँग क्रस डिस्कसन मिटिङ र सहकारी संस्थाहरूका लेखा परीक्षकहरूको अनुभवमा आधारित छलफल गर्ने निर्णय समेत भएको सभापति थापाले जानकारी दिए ।
गत जेठ १५ गते प्रतिनिधि सभाले थापाको नेतृत्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।
समितिमा एमालेबाट सभापति थापा र सरिता भुसाल, काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिका सदस्य बद्री पाण्डे सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए । यो सँगै समितिमा एक सदस्य रिक्त भएको छ । यसमा अर्को सांसदलाई पठाउने काँग्रेसको तयारी छ ।