काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटघाट भएको छ ।
आज मन्त्रालयमा भएको भेटमा एडिबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो । भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडिबीबिचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । मन्त्रालयका तर्फबाट एडिबीलाई गर्नुपर्ने आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । ‘मन्त्रालय र एडिबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुवै ठाउँबाट प्रत्येक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेस गर्नुपर्ने आवश्यक छ, हामी प्रत्येक दिन के के काम गरियो, के के गर्ने छौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ,’ मन्त्री यादवले भने ।
सोही क्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा २०२१ मा आएको बाढीले बगाएर क्षति गरेका हेडबक्सलाई ठाउँ परिवर्तन गर्न लागि जुनसुकै निकायमा जान पनि तयार रहेको बताए । यसै गरी याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पार्न प्रयास गर्ने उनले बताए । मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फायल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थ मन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने बताए ।
एडिबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय भएका भन्दै मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरे । एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडिबीले गर्दै आएका काम कारबाहीका विषयमा जानकारी गराए । मेलम्ची खानेपानी विकास समिति र एडिबी धेरै लामो समयदेखि संयुक्त रूपमा सहकार्य गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेका विषयमा मन्त्री यादवलाई जानकारी दिँदै कन्ट्री डाइरेक्टर अर्नाउडले भने, ‘मेलम्चीमा बाढीका कारण भएको क्षतिलाई पुनः निर्माण गर्नका लागि एडिबी सधैँ तयार रहेको छ, हामी फेरी पनि सहयोग गर्ने छौँ ।’
मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा २०२१ मा आएको बाढी पहिराले हेडबक्स पुरै बगाएर क्षति गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिवर्तन गरी (केही माथि सारी) पानी वितरण सहज गर्ने कार्यका लागि आफूहरूले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए । भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो ।