काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले १५ जेठको बजेटले आर्थिक शिथिलता चिर्न नसकेकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
कर्जा, ब्याजदर, ऋणीहरूको ब्यालेन्स सिटलाई सजिलो बनाइदिन मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए । अर्थतन्त्रको आकारमा ऋण प्रवाह गरिएको उनले बताए । उत्पादनको क्षेत्रमा प्रवाह भएको ऋण सदुपयोग हुन नसकेको वाग्लेको निचोड छ ।
राष्ट्र बैकले मौद्रिक नीति ल्याउन लागेको एक दिन अघि रास्वपाले आयोजना गरेको नीति मन्थनमा बोल्ने क्रममा वाग्लेले आर्थिक रथका दुइटा पाङ्ग्रामा वित्तीय र मौद्रिक नीति हुने बताए ।
बजेटप्रति विशेष चासो राख्ने गरिए पनि सोही अनुरूपमा मौद्रिक नीतिलाई महत्त्व नदिइएको वाग्लेको निचोड छ । मुद्रास्फीति, कर्जा लगानी, साँवाब्याज लगायतका विषय जेलिने ठाउँ मौद्रिक नीतिमा हुने वाग्लेले बताए ।
प्राविधिक भनेर पन्छाउने गरेको विषयमा पनि नागरिकलाई जानकारी गराउन सार्वजनिक तहमा बहस गरिएको उनले बताए ।