काठमाडौँ । टोखा ११ को वनदेवी मार्गमा जमिन भासिएर ७-८ घरहरू बगेपछि आज बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखसहित प्राविधिकहरू र काठमाडौँका प्रमुख जिल्ला अधिकार जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त रजौरेको टिमले निरीक्षण गरेका छन् ।
हिजो स्थानीयले नगरपालिकामा खबर गर्ने बित्तिकै नगरपालिकाबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्ष घनश्याम खड्का सहित वडाका जनप्रतिनिधिहरू र प्राविधिकहरूले निरीक्षण गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयलाई पत्राचार गरेका थियो ।
निरीक्षण कार्यमा प्रमुख जिल्ला अधिकारी बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, इन्जिनियर अर्जुनकुमार बम सहितका प्राविधिकहरू, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त रजौरेसहितको नेपाल प्रहरीको टिम, राष्ट्रिय अनुसन्धान काठमाडौँका विकास पाण्डे, नेपाली सेना नरसिंह दल गणबाट प्रमुख सेनानी गणेश खड्काको टिम, सशस्त्र प्रहरी बल काठमाडौँबाट शैलेस श्रेष्ठको टिम, टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री र वडा नं. ११ वडाध्यक्ष घनश्याम खड्का लगायत वडासदस्यहरु, नगर प्रहरीको टिम र स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो ।
फिल्ड निरीक्षणपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले आजैदेखि जोखिम भएका घरहरूको एरियामा प्राविधिक खटाएर काम सुरु गर्ने र त्यसका लागि नगरपालिकाले सहजिकरण गर्नुपर्ने बताएका छन् ।
पोखरेलले भने, ‘पहिलो चरणमा जोखिम भएको क्षेत्रको ड्रोन म्यापिङबाट घरको नक्साङकन गर्ने । पानीका मूल भएका ठाउँहरूमा इनार खन्ने, ढलहरू बन्द गर्ने, वरपरका डिप बोरिङहरूको अवस्था बुझ्ने, पानीका मूलहरूको पानी बाहिर निकाल्ने, जोखिम भएका जमिनहरूको अवस्था बुझ्न समस्या भएको क्षेत्रफल निर्धारण गरेर एक्स–रे जिओफिजिकल इआरटी टेष्टिङ गर्ने ।’
पोखरेलले जोखिम भएका घरहरूको मुनी पानी जमेको वा भ्वाङ परेको हुन सक्ने बताएका छन् । तत्काल जोखिम न्यूनीकरणका लागि मुहान भएका ठाउँहरूमा स-साना इनार खन्नुपर्ने बताएका छन् । जोखिम भएका घरहरूबाट तत्काल मानिसहरूलाई सार्नुपर्ने अवस्था छैन तर भूकम्पीए जोखिम भने रहने उनको भनाई छ ।
काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद शिशिर खनालले जोखिम भएको ठाउँमा तत्काल जोखिम न्यूनीकरणका लागि तत्कालै स्थानीय सरकार र संघीय सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।
त्यस्तै टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरको प्राविधिक टिम र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकहरूको टिम मिलेर आजैदेखि जोखिम न्यूनीकरणका लागि कार्य अगाडी बढाउने बताएका छन् ।