काठमाडौँ । बुधबार बिहानै एउटा नरमाइलो खबर चारैतिर फैलियो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मर्मतका लागि पोखरातर्फ जान लागेको यो जहाज किन काठमाडौँमै मर्मत गरिएन ? भन्ने जिज्ञासा चौतर्फी उठिरहेको छ । आम सर्वसाधारणदेखि विज्ञहरूले समेत यो जिज्ञासा राखेका छन् । यिनै जिज्ञासाका बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश :
मर्मतका लागि पोखरा लगिँदै गर्दा सौर्य एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भयो, यसको मर्मत किन काठमाडौँमै गरिएन ?
हरेक जहाजको निर्माता कम्पनीले नियमित मर्मत सम्भारको तालिका पहिले नै सार्वजनिक गरेको हुन्छ । नागरिक उड्डयन प्राधिकरणले हरेक जहाज कम्पनीहरूलाई आफ्नो नियमित मर्मत सम्भारलाई निरन्तरता दिने व्यवस्था मिलाएको छ ।
हरेक उडान तालिका बमोजिम आवधिक मर्मतभित्र कोही जहाज एक सय घण्टा, कोही जहाज दुई सय घण्टा र कोही जहाज एक हप्तामा मर्मत सम्भार र जहाजको उपकरण फेर्नुपर्ने हुन्छ । यही सिलसिलामा सौर्य जहाजको विस्तृत मर्मत सम्भारका लागि पोखरा लगिँदै थियो । काठमाडौँमा सौर्यको ह्याङ्गर एरिया नभएका कारण पोखरा लग्न थालिएको थियो ।
पोखरामा नै किन मर्मत गरिन्छ ?
हरेक वायुसेवा कम्पनीको आफ्नो अपरेटिङ बेस तथा मेन्टिनेन्स बेस निर्धारण गरिएको हुन्छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्राधिकरणले त्यहाँ नयाँ ह्याङ्गर एरियाको व्यवस्था गरेर जहाजका मर्मतका लागिसमेत सुविधा उपलब्ध गराएको छ ।
काठमाडौँको ह्याङ्गर एरिया र मेन्टिनेन्स एरिया नभएकाले सौर्य एयरलाइन्ससहित अन्य केही एयरलाइन्स कम्पनीहरूले पनि पोखराको ह्याङ्गर एरियामा नियमित मेन्टिनेन्स गर्दै आइरहेका छन् ।
जहाजको रेगुलर मेन्टिनेन्स गर्ने एउटा सेड्यूल नै हुन्छ, जसलाई हामी ‘एयरक्राफ्ट मेन्टिनेन्स प्रोग्राम (एएमपी)’ भन्छौँ, त्यो एमएमपी अनुसार विमान कम्पनी चल्छन् । त्यही सेड्यूल अनुसार नै सौर्य एयरलाइन्सको जहाज बुधबार पोखरा गएर ह्याङ्गर एरियामा मेन्टिनेन्समा जाने निश्चित थियो । त्यसैले यो जहाज पूर्वनिर्धारित कार्यक्रम अनुसार नै पोखरा जान लागेको थियो ।
सौर्यले आफ्ना प्रायः जहाज विदेशमा नै विस्तृत चेकजाँच गर्थ्यो । बाहिरी देशमा मर्मत गर्दा महँगो हुने भएकाले व्यवस्थापनको टिमले यस पटक नेपालमै चेकजाँच गर्ने निर्णय गरेका थिए । नेपालका प्राविधिक टिमको पनि ज्ञान सिप बढोस् भन्ने उद्देश्यले जहाज मर्मतका लागि विदेशबाट प्राविधिक टिम पोखरा बोलाइएको थियो ।
के हो ह्याङ्गर ?
ह्याङ्गरलाई जहाज बनाउने घर भनिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण गरेको सुविधा सम्पन्न ह्याङ्गर रहेको छ । यहाँ निर्माण गरिएको ह्याङ्गरमा एकै चोटि दुई वटासम्म जहाज मर्मत गर्न सकिन्छ । विभिन्न जहाजका कम्पनीले अहिले त्यहाँ आफ्ना जहाजको विस्तृत मर्मत गरिरहेका छन् ।
यस्तै काठमाडौँमा ह्याङ्गरहरू छन तर सौर्य एयरलाइन्सको आफ्नै ह्याङ्गर भने छैन । त्यस कारण सौर्य कम्पनीले आफ्ना जहाजको विस्तृत मर्मतको लागि कि विदेश लानु पर्ने कि त पोखरामा लगेर मर्मत गर्नुपर्ने बाध्यात्मक स्थिति छ । विदेशमा मेन्टिनेन्स गर्नुपर्दा निकै खर्चिलो हुने भएकाले अहिले अधिकांश जहाजले नेपालमै खासगरी पोखरा विमानस्थलमा मेन्टिनेन्स गर्दै आइरहेका छन् । कम्पनीहरूले प्राविधिक तथा जनशक्तिहरू बाहिरबाट ल्याएर पोखरामा जहाज मेन्टिनेन्स गर्दै आइरहेका छन् ।
१८ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनाबारे के भन्नुहुन्छ ?
सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो । उक्त जहाजमा विज्ञ प्राविधिक टिम रहेका कारण दुर्घटनाबारे अन्य आशङ्का गर्न हुँदैन । विदेशमा वा स्वदेशमा जहाज मर्मत गर्ने संस्था अनुमति प्राप्त संस्था हुन् । तथापि घटना दुर्भाग्यपूर्ण हो ।
यसबारे छानबिन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।
आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिनको म्याद दिइएको छ ।