काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्तका कर्मचारी छनोट, सरुवा र बढुवा, पदस्थापन र मूल्यांकनमा मापदण्ड तोकेको छ ।
लघुवित्त कर्मचारीको क्षमता र उनीहरूले ऋणीलाई गर्ने व्यवहारमा प्रश्न उठेपछि केन्द्रीय बैंकले कर्मचारी सम्बन्धी मापदण्ड नै तोकिदिएको हो ।
राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘शाखा व्यवस्थापक वा त्यसभन्दा माथिको कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेरमात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवम् कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने छ,’ संशोधित निर्देशिकामा छ, ‘लघुवित्तले ‘नो योर इम्प्लोई’ को प्रयोग सम्बन्धी व्यवस्था गर्नुपर्ने छ ।’
यस्तै लघुवित्तले कर्मचारी छनोट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सम्बन्धित सर्टिफिकेसन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारका रूपमा लिन निर्देशन दिएको छ ।
संस्थाले व्यवस्थापकीय तहका कर्मचारीलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्यांकन समय–समयमा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
लघुवित्त संस्थाले सञ्चालकहरूलाई लघुवित्तको आधारभूत र सैद्धान्तिक विषय समेटी आफ्ना सबै सञ्चालकलाई आवश्यकता अनुसार अभिमुखीकरणरपुनर्ताजगी गराउने व्यवस्था मिलाउन सक्ने भएको छ ।