काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिनजिक पुगेको छ । सोमबार बिहान सिंहदरवारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक टुंगिने चरणमा पुगेको बताएका हुन् ।
मुख्य सचेतक बर्तौलाले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए । उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पुर्याउनुपर्ने बताए ।
अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताए । उनले कानुनलाई अब चाँडोभन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताए । कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।