काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने करिब निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिमा प्रधानविरुद्ध यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् ।
महिलाको उजुरीपछि संसदीय सुनुवाइ समितिका सांसदहरू प्रधानलाई आयुक्तमा सिफारिस गर्न हच्किएका थिए । समितिले उजुरीकर्ता महिलासँग पनि छलफल गरेको थियो । उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटकपटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन् ।
संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । प्रधानको विषयमा निर्णय लिन बिहान साढे ११ बजेका लागि डाकिएको समितिको बैठक अपराह्न ५ बजेका लागि सारिएको छ । दलहरूले समय मागेपछि समितिको बैठक अपराह्नलाई सारिएको हो ।
प्रधानलाई अनुमोदन गर्न नसक्ने काँग्रेस र एमालेको निष्कर्ष
नेपाली काँग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।
काँग्रेस र एमालेको संयुक्त बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको हो । संयुक्त बैठक अघि काँग्रेस र एमालेले प्रधानबारे आन्तरिक छलफल गरेका थिए ।