काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचका सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा जलविद्युत्, ट्रान्समिसन, सिँचाइ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग हुने विश्वास व्यक्त गरे । मन्त्री खड्काले नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउनसमेत आग्रह गरेका थिए ।
भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताएकी थिइन् ।