काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष विनोदसिंह विष्टले आफ्नै पालिकाका कर्मचारीले घुस मागेको आरोप लगाएका छन् । विष्टले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नै नगरपालिकामाथि भ्रष्टाचारको विषय उठाउँदै गम्भीर आरोप लगाएका हुन् ।
उनले फेसबुकमा स्टाट्स लेख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र पालिकामै कार्यरत केही कर्मचारीहरूले घुस तथा कमिसन नपाउँदा गत आवमा सम्पन्न भएका कामहरूको भुक्तानी रोकिदिएको आरोप लगाएका छन् ।
विष्टले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्मा र त्यहाँ कार्यरत कर्मचारीहरूले काम सम्पन्न भइसकेपछि पनि वडाका विभिन्न योजनाका रकम भुक्तानीमा घुस तथा कमिसन मागेको आरोप लगाएका हुन । उनले काम सम्पन्न भएर पनि मूल्याङ्कन गरी भुक्तानी दिन काटिएका चेक आफूले मागेको कमिसन रकम अथवा घुस नपाउँदा भुक्तानी नगरेको बताए।
उनले अधिकृत तथा कर्मचारीले घुस तथा कमिसन मागेर मासिक १० लाख जति कमाउने टार्गेट राखेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीहरूले काम सम्पन्न भइसकेर मूल्याङ्कन उठाई भुक्तानी दिन काटिएका चेक आफूले मागेको कमिसन रकम अथवा घुस नपाउँदा चेक पाटिले नपाएर भुक्तानी फिर्ता (चेक रिभर्स) बनाइएको छ ।’
उनले लेखेका छन्, ‘अन–अफिसियल नै पाटिलाई चेक दिने दिनहरूमा उनी काठमाडौँ तिर बसिरहेका थिए । वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले हालका प्रमुख प्रशासकीय अधिकृत र उनका केही सहयोगी कर्मचारीहरूको तलब मासिक रु १० लाख बराबर बनाइदिन म नै प्रस्ताव गर्छु, किनकि मासिक रु १० लाख जति कलेक्सन गर्ने उनको टार्गेट रहेछ ।’
हेर्नुहोस् विष्टले फेसबुकमा लेखेको स्टाटस