काठमाडौँ । जापानको प्रतिनिधि सभाका चार सदस्यले नेपाल भ्रमण गरेका छन् । ‘स्ट्यान्डिङ कमिटी अफ जुडिसियल अफियर्स’ का अध्यक्ष ताकेबे अर्ताको नेतृत्वमा उनीहरूले साउन १२ देखि १५ सम्म नेपाल भ्रमण गरेका हुन् ।
उक्त टोलीका सदस्यहरूमा मकिहारा हिदेकी, मिचिसिता दाइकी र ओगुची योसिनोरी रहेका थिए । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि जापानबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
भ्रमण टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको थियो । त्यसै गरी, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेको थियो ।
भेटघाटका अवसरमा जापान-नेपाल द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल हुनुका साथ स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) कार्यक्रम र प्राविधिक आन्तरिक तालिम कार्यक्रम, आर्थिक सहयोग र लगानी लगायतका विषयमा पनि कुराकानी भएको काठमाडौँस्थित जापानी दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।