काठमाडौँ । गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्ने जानकारी दिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै उनले प्रहरीको संगठनलाई सुदृढ, गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानून निर्माण गर्ने तयारीमा सरकार रहेको उल्लेख गरेका हुन् ।
‘अहिले हाम्रो प्राथमिकता भनेको केही कानूनहरुको निर्माण हाम्रो प्राथमिकता हो । देशमा शान्ति सुरक्षा कायम गर्नका लागि, अमनचैन स्थापित गर्नका लागि, सुशासनको प्रत्याभूति र सुनिश्चितता गर्नका लागि केही कानूनहरू नयाँ निर्माण गर्नुपर्ने, संशोधन गर्नुपर्ने, समसामयिक रूपले परिमार्जन गर्नुपर्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ, ’गृहमन्त्री लेखकले भने, ’तथापि आजको दिनमा एउटा नयाँ प्रहरी कानून चाहिन्छ, जसले प्रहरीको संगठनलाई सुदृढ गर्छ । र प्रहरीको संगठनले मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्छ भन्ने कुरा भएको हुनाले नेपाल प्रहरी ऐन २०१२ नयाँ विधेयकको रूपमा प्रस्तुत गर्ने हाम्रो तयारी छ ।’
उनले सरकाले सशस्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भीर र अर्थपूर्ण रूपमा छलफल गरेर निष्कर्षमा पुर्याउने काममा लाग्न संसदीय समितिलाई आग्रह गरे ।
‘कानून निर्माण हाम्रो पहिलो प्राथमिकता हो । मैले सम्मानित समितिले यति कुरा यसकारण निवेदन गर्नुपर्ने भयो कि अब सरकारले चाँडै, मन्त्रालयले चाँडै विधेयकहरू प्रस्तुत गर्छौँ । यी विधेयकहरू यसै समितिमा आउने हो । समितिले त्यसमा अर्थपूर्ण, गम्भीर छलफल गरेर देशलाई नयाँ कानून दिनसक्यौं भने यसले अहिलेको प्रहरी प्रशासनलाई, अहिले शान्ति सुरक्षाको जिम्मेवारी लिएको अंग प्रत्यङ्गहरुलाई यसले बलियो बनाउँछ, सुदृढ बनाउँछ । त्यसका लागि कानुन ल्याउँछौँ । यो हाम्रो प्राथमिकता हो’ उनले भने ।
गृह मन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रूपमा लिन पनि सांसदहरुलाई आग्रह गरे ।