काठमाडौँ । लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकको विवरण संकलन गर्दै सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेको छ ।
लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा इजरायलको आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच तनाब बढेको छ । नेपाली दूतावासले बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै लेबनानमा कार्यरत नेपालीको विवरण संकलन गर्न थालेको हो ।
दूतावासले नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । ‘विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको बेहोरासमेत अनुरोध छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
लेबनानमा कार्यरत हेटौँडाका अशोक थापाले आफूहरू पछिल्लो घटनाक्रमबारे अपडेट रहेको बताए । उनका अनुसार बेरुत आसपासमा झन्डै ५ सय नेपाली कार्यरत छन् । उनीहरू घरेलु श्रमिक, होटेल र उद्योगमा कार्यरत छन् ।