काठमाडौँ । नेपाल वायुसेवा निगम नेतृत्वको अक्षमता सतहमा आएको छ । विवादित निर्णय र कार्यशैलीका कारण चर्चामा आइरहने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अक्षमताको कारण निगमले एक अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नु छ ।
जहाज मर्मतमा लापरबाहीका कारण निगमले उक्त नोक्सानी व्यहोरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
‘समयमा इन्जिन मर्मत नहुँदा भाडामा इन्जिन लिनुपर्ने बाध्यात्मक अवस्था तथा सम्झौताअनुसार भाडाको ईन्जिनसमेत समयमा उपलब्ध नगराई लामो समयसम्म विमान भूमिुस्थ (ग्राउण्डेड) रहन जाँदा करिब एक अर्ब भन्दा बढी नोक्सानी निगमले बेहोर्नु परेको हुन सक्ने समितिको अनुमान छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, निगममा विमानको मर्मत सम्भार लगायत अन्य प्राविधिक कार्यहरू समयमा नगर्ने, गरी हाले पनि ढिलाइ गर्ने, सम्भावित आकस्मिकतालाई मध्य नजर राखी समय तालिका सहितको पूर्व योजना नहुने कारणले गर्दा निगमले बारम्बार अनावश्यक नोक्सानी व्यहोर्नु परेको ।’
निगमको एथ्रिटुजिरो (नाइन एन एकेएक्स) जहाजको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको विमान ग्राउण्डेड भई निगमलाई हानी नोक्सानी भएको विषय र निगमको एथ्रिथ्रिजिरो (नाइन एन एएलवाइ) जहाजको थ्रिसी चेकका लागि नियामक निकायको प्रक्रियागत प्रावधान तथा अन्य प्रचलित कानूनी प्रावधानहरूको पूर्ण रूपमा पालना नगरी इटाली पठाएको विषयमा केन्द्रित भई समितिले छानबिन गरेको थियो । छानबिनका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले असार १८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका थिए ।
नाइन एन एकेएक्स जहाज मर्मत सम्भारमा लापर्बाहीका कारण १४९ दिनसम्म ग्राउण्डेड भएको थियो । गत मंसिर १५ मा ग्राउण्डेड भएको जहाज मर्मतका लागि पुस २७ मा इजरायल लगिएको थियो । जहाज वैशाख दोस्रो साता मात्र काठमाडौँ ल्याइएको थियो ।
मङ्सिरमा ग्राउण्डेड हुनु २ महिनाअघि जहाजमा इजरायलमा १२ दिन लगाएर भाडाको इन्जिन हालिएको थियो । बिग्रिएको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई)मा छोडिएको थियो । आईएआईले सम्झौता अनुसार इन्जिन मर्मत नगर्दा र अर्को इन्जिन उपलब्ध नगराउँदा जहाज १४९ दिन ग्राउण्डेड भएको थियो । यसमा निगम व्यवस्थापनको चरम लापरबाही देखिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले जहाजमा जडान गरिएको इन्जिनमा समस्या आए के गर्ने भन्ने योजना नै निगमसँग नभएको जनाएको छ । ‘विमान सञ्चालनमा आएको लगभग ७ वर्ष भइसक्दा पनि कुनै पनि बेला इन्जिन बिग्रन सक्छ र जगेडा इन्जिनको जोहो गर्नु पर्दछ भनी सोच र योजना नबनाउनु निगमको चरम अव्यवस्था र लापरबाही हो’, प्रतिवेदनमा भनिएको छ, ‘निगमले दुई वटा ए थ्रिटुजिरो विमान सञ्चालन गरिरहेको र सो विमानमा जडान गरिएको इन्जिनबाट मात्र सेवा सञ्चालन गरी जगेडा इन्जिनको व्यवस्था नगरेकोले केही गरी इन्जिनमा समस्या आए के गर्ने भन्ने आकस्मिक योजना भएको नपाइएको ।’
नाइन एन एएलवाइ जहाज एक महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड छ । उक्त जहाज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नै नलिई सी चेकका लागि असार ९ मा इटली पठाएको थियो । एक महिनामा सी चेक भएर फर्किसक्ने भनिएको जहाज आउने मिति अनिश्चित छ ।
जहाजको सी चेकका लागि भएको टेन्डर, सार्वजनिक खरिद नियमावली बमोजिम टेन्डर आह्वानमा सबै कुरा नखुलाइनु, सिलबन्दी बोलपत्र तोकिएको मितिमा नखोली म्याद थप गरिनु जस्ता विषय शङ्कास्पद छन् । सी चेकका लागि एटिटेक कम्पनीको छनोट गरिनुमा आर्थिक लेनदेनको आशंका गर्दै समितिले भनेको छ, ‘खरिद कार्य पारदर्शीरुपमा गरेको मान्न मिल्ने अवस्था देखिँदैन ।’
अनुमतिविना सी चेकका लागि जहाज पठाएको भन्दै प्राधिकरणले निगमका अध्यक्ष अधिकारीलाई कारबाहीस्वरुप एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न रोक लगाएको थियो ।