काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापन प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजीपी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआइजीपीहरुको सरुवा प्रस्ताव गरिएको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार नवनियुक्त एआइजीपी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी(मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) प्रमुखको पनि सरुवा गरिएको छ ।
जसअनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआइजीपी दिपक थापालाई सिआइबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआइजीपी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा पठाइने भएको छ । थापालाई सिआइबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट पठाइएको प्रस्तावमाथि छलफलसँगै निर्णय गर्नेछ ।