काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर केही बेरअघि नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटना स्थलमा जलेको अवस्थामा पाँच जनाको शव भेटिएको पुष्टि गरे ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।
डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।
त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।