काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले कार्यबोझ नबढेको अवस्थासम्म मन्त्रालय थप नगर्ने बताएका हुन् ।
कोशीमा काँग्रेस एमालेको सरकार छ । मन्त्रालय भागबन्डा गर्दा काँग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ ।
सरकारमा सहभागी हुने सहमति भए पनि काँग्रेसमा आकांक्षी धेरै भएका कारण काँग्रेसले मन्त्री पठाउन सकेको छैन । काँग्रेसमा डा. शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेको छ, तर सभापति शेरबहादुर देउवा तयार छैनन् ।
शेखर पक्षले मन्त्रालय थप गरेर भए पनि २ वटा मन्त्रालय माग गरेको थियो । सोही कारण काँग्रेस सरकारमा सहभागी भएको छैन ।
मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा कार्यबोझ नबढेका कारण मन्त्रालय थप नगर्ने बताए । उनले काँग्रेस सभापतिसहित अन्य नेतासँग मन्त्रालय नबढाउने सहमति भएको बताए ।
उनले प्रदेशको बजेट संशोधनको सम्भावना नरहेको बताए । काँग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट संशोधन गर्न माग गरेको थियो । तर बजेट संशोधन नहुने उनले बताए ।
यसैगरी मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले चिया सम्मेलन र लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए । प्रदेशमा उत्पादन हुने चियाको बजारीकरण र विकासका लागि चिया सम्मेलन गर्ने उनले बताए । लगानी आकर्षित गर्नका लागि प्रदेशमा लगानी सम्मेलनको तयारी पनि भइरहेको उनले बताए ।