काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुर महानगरपालिका वडा नं. १३ ललितपुरका खतीलाई सोमबार चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी पदमा नियुक्त गरेको हो ।
मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।
सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबार(आज) नै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव मुकुन्द प्रसाद निरौलाबाट शपथ ग्रहणसमेत गरिसकेका कार्यकारी निर्देशक बखतीले बुधवार देखि कार्यभार सम्हाल्दै छन् ।
बखतीलाई राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति(गठन) आदेश, २०८० को दफा ६ को उपदफा(६) बमोजिम ४ वर्ष सम्मका लागि सोही गठन आदेशको दफा ६ को उपदफा ५ बमोजिम नियुक्त गरिएको मन्त्रालयले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।