काठमाडौँ । महोत्तरीको गौशालामा मालपोत कार्यालय सञ्चालनमा आएको छ। गत साता जलेश्वरस्थित मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि सोमबारबाट जग्गा कारोबारसम्बन्धी कार्य सुरु भएको हो।
२०७८ वैशाख १७ गते कार्यालय स्थापना भएतापनि लामो समयदेखि प्राविधिक कारणवश यस कार्यालयबाट सेवा सुचारु हुन सकेको थिएन। यहाँका सेवाग्राहीले सदरमुकाम जलेश्वरबाट सेवा लिन बाध्यता रहेको थियो।
कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीहरू हर्षित छन्। अब समय र पैसाको बचत हुने तथा जग्गा कारोबारका लागि समस्या नहुने भएपछि सर्वसाधारणहरू खुसी भएका हुन्।
क्रमिक रूपमा कर्मचारी लगायतका आवश्यक बन्दोबस्ती गरिँदै जाने र तत्कालको लागि कार्यालयबाट सेवा उपलब्ध गराउन सफल भएको मालपोत कार्यालय प्रमुख दीपेन्द्रकुमार झाले बताए। विविध कारणवश लामो समयको प्रतीक्षा पश्चात् यहाँबाट सेवा सुचारु गराउन विभिन्न पक्षहरूले सहयोग गरेकै प्रतिफल प्राप्त भएको प्रमुख झाले बताए।