काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताएका छन्।
बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक संसद्ले पारित गर्नुअघि शीर्ष नेताहरूले बोल्ने क्रममा ‘प्रचण्डले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन सेना समायोजन नेतृत्वले जोखिम उठाउँदा सहज भएको बताएका हुन्।
‘मैले रातारात ! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्यो, सेना समायोजन हुन पर्यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो, ’उनले भने।
हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको ‘प्रचण्ड’ले बताए।
‘एउटामात्रै क्षति मैले र मैले नेतृत्व गरेको पार्टीले बेहोर्नुपर्यो, ‘उनले भने, ‘सेना समायोजन, हतियार व्यवस्थापनको नेतृत्व गरेबापत मेरो पार्टी विभाजित भयो। निकै ठूलो जटिलता पार्टीले बेहोर्नुपर्यो तर देश बाँच्यो। शान्ति स्थापित भयो, मलाई गर्व छ, ‘उनले भने।
‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए हतियार व्यवस्थापन र सेना समायोजन गर्न सम्भव थिएन, ’प्रचण्ड’ले भने।