काठमाडौँ । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।
साउन ७ गते संसदीय दलका नेताबाट लीला गिरीले राजीनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो ।
गिरीले यसअघि उपनेता रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
शनिबार बुटवलस्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले नेपाल प्रेसलाई जानकारी दिए । त्यसैगरी प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहेका तुलसीप्रसाद चौधरीले जिम्मेवारी पाएका छन् ।
शनिबारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी भएकी थिइन् । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लीला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमानेका कारण आचार्यलाई बनाइएको स्रोतले जनाएको छ । गिरीलाई सोही पदमा राख्नका लागि नेतृ पद्मा अर्यालले छलफल गरे पनि त्यसको कुनै टुंगो नलागेपछि आचार्यलाई दलको नेता बनाइएको हो ।
दलको नेता बनेपछि पत्रकारहरूसँग बोल्दै चेतनारायण आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाएका छन् ।
संसदीय दलको बैठकले मुख्यमन्त्रीले ४ गते विश्वासको मत लिने भएको त्यसको तयारीका बारेमा पनि छलफल गरेको सांसदहरुले बताएका छन् । ८७ सदस्यी प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लीला गिरी भने उपस्थित थिएनन् । एमालेका २९ र काँग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।