६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा एकातिर बढ्दो आकर्षण, अर्कोतर्फ जागिरमा भएकाहरू धमाधम छाड्दै 

अ+ अ-

निजामती सेवामा प्रवेश गर्न अहिले पनि ठूलो पङ्क्ति तँछाडमछाड गरिरहँदा, लोक सेवा आयोगले लिने परीक्षामा थेगिनसक्नु भीड भइरहँदा अर्कोतर्फ भने सेवामै रहेकाहरू धमाधम जागिर छाडिरहेका छन् । यसपछाडिको कारण के हो ?

काठमाडौँ । अहिले निजामती सेवामा आकर्षण बढ्दो हो कि क्रमशः घटिरहेको हो ? पछिल्लो समय यो प्रश्नको ठ्याक्कै उत्तर फेला पार्न कठिन देखिएको छ । किनभने केही तथ्याङ्क हेर्दा पछिल्लो समय निजामती सेवामा धेरै मानिसको आकर्षण घट्दै गइरहेको जस्तो पनि देखिन्छ । किनभने सेवामा रहेका कैयौँले धमाधम जागिर छाडिरहेका छन् । फेरि निजामती सेवामा भर्ना हुन चाहने संख्या पनि उसैगरी बढिरहेको देखिन्छ । आखिर भइरहेको चाहिँ के हो त ? 

निजामती सेवाबारे दक्खल राख्ने जानकारहरू सेवाभित्रको केही खराब प्रवृत्तिका कारण इमानदार सरकारी कर्मचारीहरू जागिर छाड्न बाध्य भइरहेको टिप्पणी गर्छन् ।  विभिन्न समस्या पार गर्दै प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले नै अवधि नपुग्दै जागिर छाड्ने क्रम बढ्नु त्यसकै उदाहरण भएको उनीहरूको भनाई छ । 

यो सब भइरहँदा सरकार र उसका निकायहरू भने भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा जागिर छाडिरहेछन् भन्नेबारे पूरै अनभिज्ञ जस्तो देखिन्छन् । 

निजामती सेवामा प्रवेश गरेकाहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकाल बाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् । तर जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या बढ्दो क्रममा देखिएको छ । 

पछिल्लो १० वर्षको अवधिमा ६ हजार ६०४ जना निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएको अभिलेख निजामती किताबखानामा लिपिबद्ध छ । किताबखानाका अनुसार सेवा अवधि बाँकी रहँदै राजीनामा दिनेमा सबभन्दा धेरै चाहिँ श्रेणीविहीन कर्मचारी छन् । श्रेणिविहीन कर्मचारीमा कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत पर्छन् ।

किताबखानाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १ हजार २३९ जना कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका थिए । २०७२/७३ मा ७०१, २०७३/७४ मा १ हजार २६, २०७४/७५ मा ६८२ जना निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएको किताबखानाको अभिलेखले देखाउँछ । 

२०७५/७६ र २०७६/७७ को तथ्यांक प्राविधिक कारण उपलब्ध हुन सकेन । किताबखानाका अनुसार २०७७/७८ मा ९०९ जना, २०७८/७९ मा ७३५ जना, २०७९/८० मा ७६२ जना र २०८०/८१ मा ५५० जना निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।  

पछिल्लो १० वर्षमा कुन श्रेणीका कति कर्मचारीको राजीनामा ? 
विशिष्ट श्रेणी (मुख्य सचिव सरह) : ३ जना
विशिष्ट श्रेणी (सचिव सरह) : ३२ 
राजपत्राङ्कित प्रथम श्रेणी : २८
राजपत्राङ्कित द्वितीय श्रेणी : २५९
राजपत्राङ्कित तृतीय श्रेणी : ५७६
राजपत्रअनंकित प्रथम श्रेणी : ८१८
राजपत्रअनंकित द्वितीय श्रेणी : ८१९
राजपत्रअनंकित तृतीय श्रेणी : ४४
राजपत्रअनंकित चतुर्थ श्रेणी : २
राजपत्रअनंकित पाँचौँ श्रेणी : १७
अधिकृत बाह्रौँ : १
अधिकृत एघारौँ : २०
अधिकृत दसौँ : २१
अधिकृत नवौँ : १३
अधिकृत आठौँ : ५४
अधिकृत सातौँ : ६६
अधिकृत छैटौँ : ३७०
वरिष्ठ पाँचौँ : ३
सहायक पाँचौँ : ३८८
सहायक चौथो : ९६
दसौँ तह : ३१
नवौँ तह : १७
आठौँ तह : १०७
सातौँ तह : ४५
छैटौँ तह : ३३४
पाँचौँ तह : ३५९
श्रेणी विहीन : २०८१

केन्द्रीय कर्मचारी निकायको रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारीहरूले धमाधम जागिर छाडिरहेको यो अवस्थाबारे बेखबर जस्तै देखिन्छ । जानकारहरू मन्त्रालयले कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने प्रयास नै गर्न नसकेको बताउँछन् ।

सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा कुनै ध्यान नदिँदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क दिक्क अवस्थामा पुगेको, त्यही कारण उनीहरूले जागिर छाडिरहेको उनीहरूको भनाई छ । इमानदार कर्मचारीहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचनासमेत हुन थालेको छ । 

किन बढे जागिर छाड्नेहरू ? 
निजामती किताबखानाको अभिलेख हेर्ने हो भने सरकारी जागिर छाड्नेको एक खालको लर्को नै देखिन्छ र त्यो दिनानुदिन बढ्दो क्रममा छ । सरकारी सेवामा रहेका कर्मचारीले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले अहिलेसम्म पनि कुनै खोज अनुसन्धान भने गरेको छैन । निजामती किताबखानाले पनि राजीनामा दिएका कर्मचारीले के कति कारणले राजीनामा दिएका हुन् भन्नेबारेमा कुनै सोधपुछ गर्ने र जानकारी लिने काम गर्न सकेको छैन ।  राजीनामा दिनेहरू सबैले घरायसी समस्या देखाएर राजीनामा दिने गरेको किताबखानाले जनाएको छ । 

तनाव व्यहोर्नुपर्ने र त्यसको समाधान खोज्न नसक्ने कर्मचारीहरूले राजीनामा दिने गरेको एक अधिकृतले बताए । उनका अनुसार केही कर्मचारीहरूले विदेशको आवासीय अनुमति (पीआर) लिएकाले राजीनामा दिने गरेका छन् । तर, पनि कोही भने निजामती सेवामा रहेको विकृतिका कारण राजीनामा दिने गरेको हुन सक्ने उनको भनाइ छ । 

किताबखानाका अनुसार समय नपुग्दै राजीनामा दिनेमा खरिदार, सुब्बा र अधिकृत स्तरका कर्मचारी धेरै छन् । विशिष्ट श्रेणीमा पुगिसकेका केही सचिवहरूले पेन्सन सुविधा बढी पाउने आशाले सेवा निवृत्त हुनुभन्दा केही दिनअघि राजीनामा दिने गरेका पनि छन् । त्यस्ता कर्मचारीको संख्या भने निकै कम रहेको छ । 

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले व्यक्तिगत कारणलगायत विभिन्न कारणले जागिर छाड्नेको संख्या बढेको बताए । कतिपयले पेन्सन बढी हुन्छ भनेर सेवा अवधि बाँकी छँदै जागिर छाड्ने गरेको, कतिपयले आफ्नो घरायसी काम अघि सार्दै विदेशमा राम्रो हुने भएकाले पनि जागिर छोड्ने गरेको कोइराला बताउँछन् । कतिपयले सरकारको शासन व्यवस्था मन नपरेर पनि जागिर छाडिरहेको उनले बताए । राजीनामा दिने कुरा सामूहिक नभई व्यक्तिगत हुने भएकाले कुनै कर्मचारीले आफ्नो हाकिमसँग कुरा नमिलेका कारण पनि जागिर छाड्ने गरेको उनी बताउँछन् । 

पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली पनि निजामती सेवामा आफ्नो भविष्य राम्रो नदेख्ने कर्मचारीले राजीनामा दिने गरेको बताउँछन् । तर निजामती सेवा भने बाहिर हल्ला भएजस्तो अव्यवस्थित नभएको, यो सेवामा आबद्ध व्यक्तिहरूको भविष्य धेरै नै राम्रो हुने मैनालीको भनाइ छ । 

उनका अनुसार सेवा अवधि बाँकी रहँदै राजीनामा गर्नेमा सबभन्दा बढी श्रेणीविहीन कर्मचारी छन् । यसको मुख्य कारण भनेको नन–ग्रेडेड (श्रेणिविहीन) मा हुनेलाई माथिल्लो पदमा पुग्न धेरै गाह्रो हुनु हो । धेरैजसो कर्मचारीहरू विभिन्न कर्मचारी युनियनमा आबद्ध भएकाले पनि हाकिमहरूले कुनै पनि कर्मचारीमाथि नकारात्मक क्रियाकलाप गर्न नसक्ने मैनालीले बताए । 

आकर्षण पनि छ
सरकारी जागिरे अर्थात् निजामती सेवामा रहेकाहरूले धमाधम अवधि पूरा नहुँदै जागिर छाडिरहेका बेला पछिल्लो समय निजामती सेवामा आकर्षण पनि उसैगरी बढिरहेको देखिन्छ । निजामतीमा आकर्षण बढ्दै गएपछि लोक सेवा आयोगमा दर्खास्त दिनेको संख्या पनि वर्षेनी बढिरहेको आयोगले जनाएको छ । पछिल्लो समय लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने महिलाको संख्या पनि बढ्दो क्रममा छ । एउटा पदमा मात्र होइन, एकै वर्षमा विभिन्न पदहरूमा नाम निकाल्नेको संख्या पनि उस्तै छ ।

केही समय अघि मात्र गुल्मीकी मनीषा जिसी (विष्णु घर्ती) ले लोक सेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्ष भित्रमा उत्तीर्ण गरेकी थिइन् । धुर्कोट गाउँपालिका–३, हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समयावधिमा परीक्षा उत्तीर्ण गरेकी थिइन् । 

उनले कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोक सेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी थिइन् । 

सानैदेखि नर्सिङ विषय पढ्ने रहर बोकेकी मनीषा परिश्रमका कारण आफूलाई सफलता मिलेको बत्ताउँछिन् । ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ,’ उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’ 

यस्तै, बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६, माल्तामा जन्मिएकी छाया जैसीले पनि २०८० वैशाखदेखि पुससम्म लोक सेवा आयोगले परीक्षा लिएका विभिन्न ६ पदमा नाम निकालिन् । गत पुसमा उनको पोस्टिङ उदयपुरको ताप्ली गाउँपालिकामा भयो । उनी चौथो तह अन्तर्गत नायब पशु सेवा प्राविधिकमा कार्यरत छिन् । 

त्यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ४ मा जन्मिएकी खुसी बुढामगरले पनि एकै वर्षमा लोक सेवा आयोगका सात वटा परीक्षामा नाम निकालेकी छन् । कर्णाली प्रदेशको चौथो र पाँचौँ तहमा उनको नाम निस्किएको छ । यसैगरी लुम्बिनीमा प्रदेश र स्थानीय तहमा गरी दुई वटा परीक्षामा नाम निस्किएको छ । सुदूरपश्चिम प्रदेशमा पाँचौँ तह, कोशी प्रदेशमा चौथो र संघीय सरकारमा पनि उनको नाम निस्किएको हो । यसरी आफूले दिएका परीक्षा अधिकांशमा नाम निस्कनुमा आफ्नो मिहिनेत नै रहेको उनी बताउँछिन् । 

मनीषा, छाया र खुसी उदाहरण हुन् । पछिल्लो समय निजामती सेवामा प्रवेश गर्नेको संख्या उल्लेख्य छ । तर सेवामा रहेकाहरूले धमाधम राजीनामा दिँदै जाँदा यो सेवामा आउनेहरूमा पनि असर पर्न सक्ने, बिस्तारै निजामती सेवाको आकर्षण घट्न सक्ने जोखिम पनि छ । सरकारदेखि सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्ने निजामती सेवामा लामो समय काम गरेका कर्मचारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस