काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ माथि आर्थिक अनियमितताको आरोप लागेको छ । सिन्धुली जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्दाको आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा बसेको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएकाले पार्टी कमिटीमा परिपत्र गरिएको हो ।
इन्चार्ज माझीले पठाएको परिपत्रमा भनिएको छ, ‘जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय व्यय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रमको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन । गणेश रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०-४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माणको आय व्यय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।’
जनसेवा फाउन्डेसनकी अध्यक्ष दीपा बोहरा दाहाल राजन दाहालकी श्रीमती हुन् । दीपा सुनकोशी गाउँपालिका अध्यक्षसमेत हुन् ।
कमलामाई नगरपालिका–६ स्थित २ मा ७० लाख हाराहारीमा १२ धुर जग्गा किनेर भवन बनाइएको छ । स्थानीय व्यापारीले रड, सिमेन्ट, गिट्टी, बालुवा सहयोग गरेको उक्त भवनमा ज्यामीको ज्यालाका लागि संकलित रकम र भए/गरेको खर्चको हिसाब सार्वजनिक गर्न गत वर्ष पनि आवाज उठेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको उक्त भवन निर्माणमा दुई करोड बढी खर्च लागेको अनुमान छ । चार तले उक्त भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन छ । भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दासम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले दाहालको आलोचना गरिरहेका छन् ।
