काठमाडौँ। नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८(, (१३) बमोजिम पार्टी हित विपरीत गतिविधि गरेको र पटक-पटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्कासन गरिएको हो ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेद्वारा जारी विज्ञप्तिमा खरेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको उल्लेख छ । त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
संगठनको हित विपरीतका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।
आफ्नै रेडियोमा कार्यरत एक महिला कर्मचारीमाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
