काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गरिएको छ । केही समय अघि मात्रै सरुवा भएर आएका सहसचिव द्वय चण्डीप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभाग र सुमन दाहाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी दिइएको हो ।
यसैगरी सहसचिव कृष्णा कुमारी श्रेष्ठलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा पठाइएको छ । केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयका तीन जना सहसचिवहरुलाई व्यवस्थापन गर्ने निर्णय स्वीकृत गरेका हुन् । दुवै जनालाई साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : ५९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको सरुवा भएसँगै केही दिन यता विभागीय प्रमुख रिक्त रहेको थियो ।
यस पटकको सहसचिव सरुवा धेरैले आँकलन गरेभन्दा फरक देखिएको छ । सहसचिवकै सूची दर्जनौँ पटक प्रधानमन्त्री कार्यालय-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चक्कर काटिरहने गरेको थियो तर यस पटक भने बहसमा नआउँदै एकै पटक प्रस्ताव पेश भएसँगै मन्त्रिपरिषदबाट निर्णय भएको दुई घण्टामै मुख्यसचिव लीलादेवी गडतौलाले स्वीकृत गरेकी छिन् । त्यसो निर्णय नै भइसकेपछि कैयन पटक सूची बदलिने गरेकोमा यस पटक त्यो पनि खासै भएन ।
त्यसैगरी मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा सरुवा गरेपछि हप्तौँ तथा महिनौँसम्म अतिरिक्त(बरन्डा)मा राखिने गरेकोमा यस पटक मन्त्रालयको खटनपटन पनि निकै द्रुत गतिमा गरिएको छ । यस पटक सबैभन्दा छिटो अर्थ मन्त्रालयले पदस्थापन गरेको छ ।
सम्बन्धित समाचार : आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य, भन्सारमा पुडासैनी
राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हकमा कुनमा कसले नेतृत्व गर्ने भन्नेमा केही दिन शक्तिकेन्द्र धाउँदै गर्दा केही दिन समय लागेको हो । अन्ततः अब भने दौडधुप बन्द भएको छ ।