काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरूले अहिलेसम्म दिन नसकेको बताए।
हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले काँग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’
संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बदनाम गर्न खोजिएको दोहोर्याए। अहिले काँग्रेस र एमाले फेरि अवसर नआउला कि जसरी मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्न चुनौती दिए।
उनले थपे, ‘सामान्यतया संसद्का दुई ठुला दलको सरकार बन्नु राम्रो होइन। तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अवसर उहाँहरूको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’
भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्याउनु भएका सभापति लामिछानेले त्यस विरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। ‘संसदमै कडा प्रतिवाद गर्छौँ, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौँ’ उनले भने।