काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको बताए ।
उनले अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए । उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे ।
उनले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताए । उनले स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन आवश्यक भएको बताए । उनले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गरे।
उनले भने, ‘नेपालमा हाल करिव ११५० वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिएको छ । तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको देखिन्छ । अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन । त्यसले उपभोक्ता अधिकार हनन त गरेको छ नै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ । स्वदेशी सबै उत्पादन तथा उत्पादकहरूमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरूले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । स्वदेशी उत्पादन तथा उत्पादकहरूले गुणस्तरीय मापदण्ड पूरा गरे/नगरेको निगरानी गर्न धेरै निकायहरू पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन । स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’