काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि गम्भीर प्रकृतिका आरोपसहित विभिन्न निकायमा उजुरी परेका छन् । आर्थिक अनियमितता र कानून विपरीतको कार्य गरेको गम्भीर आरोप लगाउँदै उनीविरुद्ध विभिन्न निकायमा उजुरी परेका हुन् ।
वीर अस्पतालमा भएको अनियमितताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी परेको हो ।


निर्देशक पौडेलमाथि लागेका आरोप
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले कानून विपरीत कार्य गरेको आरोप लागेको छ ।
उपकरणहरू खरिद गर्ने क्रममा इस्टिमेट तयार गर्दा सीमित कम्पनीसँग मिली औसत लागतभन्दा बढी मूल्य कायम गरी खरिद गरेको, सहायक प्राध्यापक र उपप्राध्यापकको उपाधि पाउँदा गडबडी भएको भन्दै उनको सिफारिस तथा शैक्षिक प्रमाणपत्रहरूबारे छानबिन गर्न उजुरीमा माग गरिएको छ । कानूनी प्रावधान विपरीत निर्देशक डा. पौडेल एक निजी कम्पनीको सञ्चालक रहेको दाबी उजुरीमा गरिएको छ ।
ऐन, कानून विपरीत डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रा.लि. (कम्पनी दर्ता नम्बर २४८७८२/०७७/०७८)को सञ्चालक, अध्यक्ष तथा सदस्य (फरक–फरक समयमा) हुनुका साथै शेयरधनीको हैसियतमा रहेर काम गर्दै आएको आरोप उजुरीमा लगाइएको छ । डा. पौडेलमाथि नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ११२, निजामती सेवा ऐन, २०४९ को दफा ४८ ‘क’, निजामती सेवा नियमावली, २०५० को नियम ११७ विपरीत अन्य कम्पनीको सञ्चालक, अध्यक्ष र सदस्यको रूपमा काम गरेको आरोप लागेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, शिक्षक नियमावली, २०७४ को नियम १०९ को प्रावधान विपरीत उनले काम गरेको आरोप लागेको हो । पौडेलविरुद्ध यसअघि पनि विभिन्न निकायमा उजुरी परेका थिए ।

सम्बन्धित समाचार : वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलविरुद्ध उजुरी, निलम्बन गर्न माग
निर्देशक डा. पौडेलकी श्रीमती क्रान्ति बुर्लाकोटी (धादिङ)को नामबाट सुमेरु सिटी अस्पतालमा फार्मेसी सञ्चालन गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।
पौडेल राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख हुँदा खरिद गरिएको एम्बुलेन्स, सी-आर्म मशिन, हाई इन्ड अपरेटिङ माइक्रोस्कोप, डेक्सा स्क्यान मशिन खरिद गर्दा अनियमितता भएको उजुरीमा दाबी गरिएको छ । ती उपकरणहरू खरिद गर्ने क्रममा इस्टिमेट तयार गर्दा सीमित कम्पनीसँग मिली औसत लागतभन्दा बढी मूल्य कायम गरी खरिद गरिएको उजुरीमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालबाट मेडिकल तथा जनरल स्टोर, बर्न प्लास्टिक, टोमोथेरापी मशिन खरिद र डाइराइजर खरिद गर्दा अघिल्लो आर्थिक वर्षमा उल्लेखित दररेटमा खरिद गरेको उजुरीमा दाबी गरिएको छ । टोमोथेरापी मशिनको एएमसी/सीएमसीका लागि वार्षिक बजेट छुट्याएर खर्च गर्ने गरिएको, नयाँ टोमोथेरापी मशिन खरिदपश्चात् जडान गर्ने प्रयोजनका लागि बनाइएको बंकरमा समेत अनियमितता भएको उजुरीमा उल्लेख छ ।
पौडेलले नियम विपरीत २०८० साउन १८ मा प्रतिव्यक्ति ३ लाख रुपैयाँ लिएर १० जना कार्यालय सहयोगी नियुक्त गरेको आरोप उजुरीमा लगाइएको छ । नवराज धिताल र वैकुण्ठ लुइँटेललगायत केही कर्मचारीले वीर सहकारी नामक संस्था स्थापना तथा सञ्चालन गरी कर्मचारीहरूको ३० लाख भन्दा बढी रकम उठाई अपचलन तथा ठगी गरेको समेत उजुरीमा आरोप लगाइएको छ ।
डा. पौडेलले सहायक प्राध्यापक र उपप्राध्यापकको उपाधि पाउँदा त्यसमा पनि गडबडी भएको उजुरीमा उल्लेख छ । कर्मचारी संकेत नम्बर १९३४०१ रहेका पौडेलको आठौँ तहको सुरु स्थायी नियुक्ति, उनले स्नातकोत्तर अध्ययन गर्दा सोको अध्ययन सहमति पत्र, भर्ना मिति, नवौँ र दशौँ तहमा बढुवा भएको मिति र नियुक्ति पत्र झिकाएर छानबिन गर्दा उक्त तथ्य पुष्टि हुने उजुरीमा उल्लेख छ ।
डा. पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशक रहँदा राजनैतिक दलको संगठित सदस्य तथा जनसंगठनको महासचिवको हैसियतले कामकाज गरेको समेत आरोप लगाइएको छ ।


२०७९ सालमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महासचिव नै भएर काम गरेको उजुरीमा उल्लेख छ । उनी एमालेको संगठित सदस्य, महाधिवेशन प्रतिनिधि समेत रहेको खुलेपछि २०८० कात्तिक १३ मा कारबाही गर्न भनेर निर्वाचन आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । प्रतिष्ठान सेवातर्फका अस्पतालमा कार्यरत कार्यालय सहयोगी नवराज धिताल प्रतिष्ठान कर्मचारी सेवा नियमावली, २०६५ को नियम ११२ को प्रावधान विपरीत राजनैतिक दलको संगठित सदस्य रहेको समेत उजुरीमा उल्लेख छ ।
अस्पताल फार्मेसीबाट खरिद गर्नुपर्ने डाइराइजर, स्लाइन पानीलगायतका सामान नियम विपरीत अस्पताल मेडिकल स्टोरबाट खरिद गरी भुक्तानी दिने गरिएको आरोप लागेको छ । अस्पतालमा कार्यरत डाक्टरहरूले एमआरले बनाइदिएको लिस्टमा टिक लगाई अस्पताल फार्मेसीमा नपाइने औषधिहरू कम्पनीको नाममा गैरकानूनी उल्लेख गरी लेख्ने गरेको उजुरीमा उल्लेख छ ।
खरिद इकाइका सदस्य समेत रहेका अहेव अग्निधर बस्यालले कोटेसनलगायतमा मालसामान खरिद गर्दा समेत व्यापक अनियमितता भएको उजुरीमा उल्लेख छ । त्यसैगरी, कर्मचारी समायोजन हुँदा २०७६ सालमा बिरामी नरहेपनि संघमा रहनका लागि मिलेमतोमा मेडिकल बोर्डको सिफारिस बनाई संघ÷पुल÷फाजिल दरबन्दीमा अस्पतालमा रहेका अहेब टीकाराम पनेरु (कर्मचारी संकेत नम्बर १६८०००) र युवराज सुवेदी (कर्मचारी संकेत नम्बर १६९६०८) लाई मिलेमतोमा राखेको आरोप लगाइएको छ ।
२०८० भदौ २९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चलानी नम्बर २१९ को पत्रबाट पुल÷फाजिल÷अन्तिम आदेश भएकालाई जिन्सीजस्ता कार्यको जिम्मेवारी नदिनु भनेर निर्देशन दिइएको भए पनि सो निर्देशन विपरीत निर्देशक डा. पौडेलले मेडिकल स्टोरको जिम्मा दिएको उजुरीमा उल्लेख छ । लिफ्टम्यान/इलेक्ट्रिसियन वैकुण्ठ लुइँटेललाई तोकिएको जिम्मा नदिएर सेवा समूह नमिल्ने जनरल स्टोर प्रमुखमा जिम्मेवारी दिइएको समेत उजुरीमा उल्लेख गरिएको छ ।
डा. केदारप्रसाद सेञ्चुरीको अध्यक्षतामा प्रा.डा. विधाननिधि पौडेल र प्रा.डा. किरण श्रेष्ठ सदस्य रहेको मेडिकल बोर्डले २०७६ वैशाख ३ गते युवराज सुवेदीको हकमा सिफारिस गरेको थियो । बिरामी गिरीलाई सम्बन्धित विशेषज्ञ प्रा.डा. श्रीकृष्ण गिरीले लामो समयसम्म हिँड्न तथा उभिन गाह्रो हुने, अर्थोस्पाइन सर्जनसँग नियमित फिजियोथेरापीमा रहनुपर्ने र सर्जरी समेत गर्न उपयुक्त हुने भन्दै सिफारिस गरेका थिए ।
त्यसै गरी, २०७५ चैत २० गते सोही मेडिकल बोर्डले टिकाराम पनेरु पनि बिरामी रहेको सिफारिस गरेको थियो । बिरामीलाई सम्बन्धित विशेषज्ञ डा. बद्री रिजालले लामो समयसम्म हिँड्न, उभिन नमिल्ने, अर्थोस्पाइनल सर्जनसित नियमित उपचार तथा फिजियोथेरापीमा रहने र डिसेक्टोमी समेत गर्नुपर्ने भनी सिफारिस गरेको कागजात अध्ययन गर्दा सोहीअनुसार बिरामी लामो समयसम्म हिँड्न, उभिन नमिल्ने, अर्थोस्पाइनल सर्जनसित नियमित उपचार तथा फिजियोथेरापीमा रहने उपयुक्त देखिएको भनेर सिफारिस गरिएको थियो ।
मेडिकल बोर्डले ती दुवै कर्मचारीको प्रकृति उस्ता उस्तै रहेको भन्दै सिफारिस गरेको देखिन्छ ।


६ वर्षअघि नै गरिएको उक्त सिफारिसपछि पुनः अर्को स्वास्थ्य परीक्षणको अपडेट गर्नुपर्नेमा ती कर्मचारीहरूले कुनै पनि थप फलोअप अपडेटसहितको रिपोर्ट पेस गरेको देखिँदैन । एक पटक सिफारिस गरिएपछि ६ महिनापछि पुनः अर्को मेडिकल बोर्डको सिफारिस गराउनु पर्नेमा त्यही सिफारिस देखाएर ६ वर्षदेखि वीर अस्पतालमा बसेको जिकिर गरिएको छ ।
छानबिनबाट सफाइ पाइसकेका विषयमा दुःख दिने नियतले आफूविरुद्ध उजुरी हालिएको निर्देशक डा. पौडेलले प्रशासनलाई बताए । उजुरीमा लगाइएको आरोप बारे डा. पौडेल भन्छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा उपकरण किन्दा कुनै अनियमितता नगरेको छानबिनबाट पुष्टि भएको छ । सहायक प्राध्यापक र उपप्राध्यापकको उपाधि नक्कली हो भने मलाई नक्कली डाक्टर भन्नु पर्यो होइन भने यो आरोपका लागि आरोप मात्र हो । जहाँसम्म श्रीमतीको नामबाट अस्पतालमा फार्मेसी सञ्चालन गरेको कुरा छ । डाक्टरको श्रीमतीले काम गर्न हुँदैन भन्ने त कहीँ लेखेको छैन ।’
आफूमाथि गलत नियत राख्नेले पटक-पटक बेनामे उजुरी हालेर दुःख दिने काम गरेको उनको भनाई छ ।
छानबिन हुँदै
वीर अस्पतालका निर्देशक पौडेलविरुद्ध विभिन्न अनियमितताका विषयमा परेको उजुरीमाथि छानबिन भइरहेको छ । राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको हो ।
सतर्कता केन्द्रले प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत बोमबहादुर परियारसहित तीन सदस्यीय विस्तृत छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिलाई स्थलगत छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।