काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जाँदैछन् ।
पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन अध्यक्ष ‘प्रचण्ड’सहित पार्टीका पदाधिकारी टोली आज धनगढी जान लागेका हुन् ।
‘प्रचण्ड’सहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी जाने भएका हुन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।