काठमाडौँ । ज्येष्ठ नागरिकहरूको सम्मानार्थ काठमाडौँको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीज दर कार्यक्रम गरिएको छ ।
गीतकार एवं विज्ञापन गुरु निर्मलराज पौडेलसहितको टोलीले भिन्न ढङ्गले तीज मनाउने सन्दर्भमा बुधवार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरूसँग तीज दर कार्यक्रम गरेको हो । तीजको गीत बज्न थालेपछि ज्येष्ठ नागरिकहरू रमाएका थिए ।
पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल गराए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छचल्किएको थियो ।
त्यस अवसरमा काठमाडौँ महानगर-३१ का वडाध्यक्ष सरोज ढकालले ज्येष्ठ नागरिकहरूका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । ‘निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरूलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो,’ उनले भने ।
सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरू रहेका छन् । गीतकार पौडेलको शब्द र गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो ।