मकवानपुर । मकवानपुरस्थित नेकपा एमालेका नेता सानु लामाले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल पास्ता उद्योग प्रा.लि.का सञ्चालक चित्रबहादुर प्रसाईँलाई कुटपिट गरेका छन् । लामाले प्रसाईँमाथि कार्यकक्षमै कुटपिट गरेका हुन् ।
उद्योगी प्रसाईँले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीपछि लामा फरार छन् । लामाविरुद्ध उजुरी परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
लामाले उद्योगमै कुटपिट गरेको दृश्य उद्योगको सिसिटिभी फुटेजमा रेकर्ड भएको स्रोतले बतायो । स्रोतका अनुसार यसअघि लामाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष नवीन सिग्देललाई कार्यकक्षमै कुटपिट गरेका थिए ।