काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे ।
उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउन सके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए । उनले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको बताए ।
उनले भने, ‘कर्मचारीका समस्या आएका छन्। म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ। पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ। अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन। देशको अर्थतन्त्रले गर्न सम्भव छैन।’
प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरूलाई कमजोर बनाउने काम भइरहेको बताए।