काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुँजीगत खर्च बढ्नु र चालु खर्च घट्नु सकारात्मक सूचक भएको निचोड निकालिएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले पुँजीगत खर्च बढ्नु र चालु खर्च घट्नु सकारात्मक सूचक भएको निचोड निकालेको हो ।
समीक्षामा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘राजस्व संकलन कार्यलाई सरल र सहज बनाउनुपर्छ । खर्चलाई मितव्ययी र लाभग्राहीले महसुस गर्ने बनाउनुपर्छ । ठुला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ ।’ सम्पन्न वर्षका कार्यक्रमको समीक्षा गर्नु भनेको आगामी वर्ष कसरी कार्यक्रम सञ्चालन गर्नु पर्छ भन्ने सिकाइ हासिल गर्नु पनि भएको बताउँदै उहाँले, चालु आर्थिक वर्षमा क्रमागत योजनाको संख्या धेरै भएकोले यस्ता योजना तत्काल सम्पन्न गर्नु पर्ने बताइन् ।
महानगरपालिकाको क्षेत्राधिकार भित्र भएका र नभएका सबै कामको अपेक्षा लिएर नागरिक महानगरपालिकाको ढोकामा आउन सक्नुहुन्छ । जो आए पनि उहाँहरूलाई कुरा बुझाउनु । सहकारीमा गुनासो लिएर आउनेहरूको उदाहरण दिँदै उनले भनिन्, माया मार्न सक्ने पैसा भएको भए दुःख देखाएर कोही पनि आउँदैन । उहाँहरूको कुरा गम्भीर भएर सुन्नुहोला ।
‘यस वर्ष विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो । सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो ।’ समीक्षामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो ।’ उनले विभागीय प्रमुखहरूलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र बेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे।
महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।