काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग चिनियाँ दूतावासका अधिकारीहरूले भेट गरेका छन्।
नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिनले आज बिहान सांसद विमलेन्द्र निधिसँग भेटवार्ता गरेका हुन्। भेट चिनियाँ पक्षले निधिलाई मानसरोवर यात्राको निम्तो दिएको तथा वीपी कोइरालाले नेतृत्व लिएर बनेको नेपालको चीनसँगको सम्बन्ध बारेमा पनि छलफल भएको बताइएको छ । साथै निधीले नेपालीलाई भिसा फ्री गरिदिएकोमा धन्यवाद दिएको बताइएको छ ।
भेटपछि निधिको सचिवालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिनले आज बिहान माननीय विमलेन्द्र निधिसङ्ग भेटवार्ता गरेको छ । निधि निवास मध्यबानेश्वरमा डेढ घण्टासम्म भएको भेटवार्तामा दुई देश बीचको मैत्रीपूर्ण सम्बन्ध, प्राविधिक क्षेत्रको विकास, आर्थिक प्रगति, प्रतिनिधि मण्डलको भ्रमण लगायतको विषयमा छलफल भएको थियो ।
विपी कोइरालाको पालामा स्थापना भएको नेपाल चीन सम्बन्धबारे विशेष चर्चा गर्दै नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्ध एवम् राजनीतिक प्रतिनिधि मण्डलको आदान प्रदानबारे चर्चा गर्दै चिनियाँ पक्षले कैलाश मानसरोवरसहित तिब्बत एवम् चीनको भ्रमण गर्न निधिसँग अनुरोध गरेको थियो। हालसालै नेपालीहरूको लागि फ्री भिसाको बन्दोबस्त गरेको प्रति धन्यवाद दिँदै निधिले चीनसँगको हाम्रो सम्बन्ध ऐतिहासिक रहेको र हामीले सधैँ महत्त्व दिएको र दिइरहने भन्दै तिब्बत र चीन भ्रमणको लागि आफू तत्पर रहेको बताउनु भएको थियो ।’