काठमाडौँ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको सरकारी गाडीमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सवार रहेको पाइएको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार गाउँपालिकाको सरकारी गाडी दुर्घटनामा परेको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । दुर्घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते रहेको र अर्का एक जनाको खोजी कार्य भइरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटना स्थलमा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्षको परिचयपत्र भेटिएको जानकारी दिए । तर, सनाखत हुन र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको पौडेलले बताए ।
रा १ झ २०० नम्बरको पुथा उत्तरगंगा गाउँपालिकाकाको गाडी गलकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।