काठमाडौँ । सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो । जसमध्ये दोस्रो नम्बरमा सिफारिस पन्थलाई सचिवमा बढुवा गरेको हो । यसअघि भाद्र २० बिहीबारको मन्त्रिपरिषद्ले दोस्रो नम्बरमा सिफारिस कार्कीलाई सचिवमा बढुवा गरेको थियो ।
सम्बन्धित समाचार : गोविन्द कार्की सचिवमा बढुवा
सरकारले साउन ७ गते लुम्बिनी प्रदेशका निमित्त प्रदेश प्रमुख सचिव पन्थलाई सोही प्रदेशको कामु प्रमुख सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : निमित्त प्रदेश प्रमुख सचिव महादेव पन्थ, ब्युतियो जबर्जस्ती रेटिएको सचिव पद
सामान्यतः पहिलो नम्बरमा सिफारिस भएका अधिकारीलाई नै बढुवा गरिने प्रचलन भए पनि केही अवस्थामा भने तीन जनामध्ये सरकारलाई उपयुक्त लागेका व्यक्तिलाई बढुवा गरिने गरिएको छ। अघिल्लो र यस पटकको बढुवामा दोस्रो नम्बरमा सिफारिस भएका व्यक्तिहरूलाई बढुवा गरिनुमा उनीहरू कार्यवाहक प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका कारण पनि बढुवा गरिएको बताइएको छ।
लगत्तै तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिव पदमा पदोन्नति भएसँगै रिक्त हुन पुगेको सचिव पदको पदपूर्तिका लागि केही दिनमै सचिव बढुवा सिफारिस समितिको बैठक बस्दै छ ।