काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समन्वयबिनै विद्युत् प्राधिकरणले सडकका रुख काटेको भन्दै आक्रोशित बनेका छन् ।
पोखरा महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेको र त्यसअनुसार २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य लिएको बेला नै सडकमा हुर्किइसकेका रुख बिना समन्वय काटिएको भन्दै मेयर आचार्य आक्रोशित बनेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले शनिवार पोखरा न्युरोड क्षेत्रका ४७ वटा रुख काटेको महानगर स्रोतले प्रशासनलाई जानकारी दियो । स्रोतका अनुसार शनिवार पोखरा सभागृह चोकदेखि चिप्लेढुंगा क्षेत्रसम्मको रुख काटिएको हो ।
सडक किनारमा रुख काट्न प्रयोग भएका औजार र भर्याङसमेत महानगरले नियन्त्रणमा लिएको छ । बिना अनुमति सडकका रुख काटिएकोबारे कारण खुलाउन महानगरले प्राधिकरणलाई पत्राचार गर्ने तयारी थालेको छ ।