काठमाडौँ । पछिल्लो समय निजामती सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीहरू भ्रष्टाचारमा संलग्न हुने क्रम बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको रहेको जनाएको छ ।
अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या ५२० रहेको अख्तियारले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
भ्रष्टाचारको मुद्दा लाग्नेमा दोस्रो ठूलो संख्या निर्वाचित जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीको छ । २५४ जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीलाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्ष दायर गरिएका मुद्दामा प्रतिवादी बनाइएकामा १०६ जना निर्वाचित जनप्रतिनिधि र १४८ मनोनीत पदाधिकारी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार कुल एक हजार ५४५ प्रतिवादीहरूमध्ये राष्ट्रसेवक कर्मचारी ५२०, निर्वाचित जनप्रतिनिधिहरू १०६, मनोनीत पदाधिकारी १४८, राजनीति नियुक्ति ३२, लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्तिहरू ७३९ रहेका छन् । प्रतिवादी ५२० राष्ट्रसेवक कर्मचारीमा विशिष्ट श्रेणीका ६, सहसचिव वा सोसरहका ३०, उपसचिव/सीडीई वा सो सरहका ८२, शाखा अधिकृत/इन्जिनियर वा सो सरहका २०२ र सहायक स्तरका २०० जना छन् ।