काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानीयाका राजदूत डानियेला सेजनोभ टानेबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा नेपाल र रोमानीयाबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ठगी नियन्त्रण र मागपत्र प्रमाणीकरणमा देखा परेका चुनौतीहरू समाधान गर्न दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक निकट भविष्यमा आयोजना गर्ने सहमति भएको छ।
भेटका क्रममा राजदूत टानेले सन् २०२४ जनवरीदेखि हालसम्म करिब १९ हजारभन्दा बढी नेपाली श्रमिकलाई रोमानियाले श्रम भिसा जारी गरिसकेको जानकारी दिएकी थिइन्। उनले औपचारिक तवरबाट नेपाली श्रमिकहरूलाई रोमानीया पठाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै दुवै देशबिचका श्रम प्रक्रियालाई थप व्यवस्थित गर्न आवश्यक रहेको औँल्याइन्।
मन्त्री भण्डारीले युरोपमा आप्रवासी श्रमिकहरूको मानव अधिकार सुनिश्चित हुने कुरामा जोड दिँदै, नेपाल(रोमानिया श्रम सम्झौताअनुसार मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ(एमओयू) को प्रभावकारी कार्यान्वयनका लागि नयाँ प्रोटोकल निर्माण गरिने बताए। साथै, उनले मागपत्र प्रमाणीकरणलाई सरल र प्रभावकारी बनाउने लगायतका विषयहरू आगामी संयुक्त प्राविधिक समिति बैठकबाट समाधान हुने जानकारी गराए।
भेटमा दुवै देशमा कूटनीतिक नियोग स्थापना गर्नेबारे पनि छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जनाएका छन् । नेपालको श्रम बजार विस्तार र नेपाली श्रमिकको हित संरक्षणमा यो बैठकले थप महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।