काठमाडौँ । भारतले पाम, सोयाबिन र सूर्यमुखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको छ ।
भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गर्दा साढे ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो ।
त्यस्तै प्रशोधित खाने तेलमा भने भारतमा भन्सार दरबन्दी ३५.७५ प्रतिशत पुगेको छ । यसअघि यी तीन वस्तुबाट उत्पादित प्रशोधित खाने तेलमा १३.७५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।
भारतले गत शुक्रबार यो निर्णय लिएको हो । विदेशी तेल आयातमा कर लाग्दा महँगो हुँदा स्थानीय किसानको तेल खपत बढ्ने र किसान लाभान्वित हुने भारतको अपेक्षा छ ।
बढेको भन्सार शुल्क १४ सेप्टेम्बरबाटै कार्यान्वयनमा आएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
भारतको यो निर्णयले नेपाली निर्यातकर्तालाई भने लाभ मिल्ने छ । भारतीय खपतको तुलनामा नेपालबाट भारततर्फ हुने निर्यातको हिस्सा कम छ । तर, भारतले आयातमा भन्सार दर बढाए पनि नेपाली उत्पादकले भने त्यो तिर्नुपर्दैन ।
नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धि सहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्सार रहित प्रवेश पाउने गरेका छन् । नेपालबाट भारतमा हुने अधिकांश निर्यात यसरी नै हुँदै आएको छ ।